[अपडेट] मौसम खराबीले सभामुख सापकोटा टोली चढेको हेलिकप्टर बाढीग्रस्त क्षेत्र नपुग्दै फर्कियो



साझापथ संवाददाता
सिन्धुपाल्चोक, २५ असार । बाढीग्रस्त क्षेत्र बाह्रबिसे नपुग्दै सभामुख अग्‍निप्रसाद सापकोटा नेतृत्वको टोली चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ ।

सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले मौसम प्रतिकूलताका कारण धुलिखेलको आकाशबाटै फर्कनु परेको भन्दै सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । बाह्रबिसेको बाढी अवलोकन र पीडितको खोज उद्धारका लागि भन्दै सभामुखको टोली बिहान त्यसतर्फ प्रस्थान गरेको थियो ।

……………………………………………….

सभामुख अग्‍निप्रसाद सापकोटा नेतृत्वको टोली सिन्धुपाल्चोक बाह्रबिसे बाढीग्रस्त क्षेत्रतर्फ प्रस्थान गरेको छ । सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटा नेतृत्वको टोली बिहीबार बिहान त्यसतर्फ लागेको हो । सभामुख सापकोटा २०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

बुधबार रातिको बाढीले बगाएका दुई जनाको शव फेला परेको छ । बाढी कम्तीमा ९ बेपत्ता, डेढ दर्जन घर बगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्‍याएको छ । बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ ।

राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो । स्थानीय युधिर पौडेलका अनुसार २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्