उपसभामुख तामाङद्वारा उद्धार र खोजी प्रभावकारी बनाउन प्रदेश सरकारको ध्यानाकर्षण



साझा पथ संवाददाता

हेटौंडा २५ असार । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ र भोटेकोसी गाउँपालिका ५ जम्बुका बाढीपहिरो पीडितको उद्धार र बेपत्ताको खोजी कार्य तीव्र बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार ध्यानाकर्षपण पत्र निकालेर उपसभामुख तामाङले बाढी र पहिरोका कारण २ जनाको ज्यान गएको र २० जना बेपत्ता भएको घटनाले विक्षिप्त तुल्याएको उल्लेख गर्दै घाइतेहरुको उद्धार, उपचार व्यवस्था एवं बेपत्ताहरुको खोजी कार्य तीव्र र प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेकी हुन् । ‘घटनामा परेकाहरुको उद्धारका लागि प्रयास जारी रहे तापनि मौसम प्रतिकूलताका कारण अझैसम्म बेपत्ताहरु फेला पर्न सकिरहेका छैनन् । घाइतेहरुको उद्धार, उपचार व्यवस्था एवं बेपत्ताहरुको खोजी कार्य तीव्र र प्रभावकारी बनाउनका निम्ति प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’ थपिन् ‘मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जारी गरेको सूचनाअनुसार वाग्मती प्रदेश पनि भारी वर्षा र बाढी पहिरोको उच्च जोखिममा रहेको छ । यस कारण थप धनजनको क्षती हुनबाट रोक्नका लागि संघ, प्रदेश र स्थानीय सरकारको गंभीर ध्यानाकर्षण गराउँदछु ।’

उनले प्राकृतिक प्रकोप र विपदको बेला उच्च सतर्कता अपनाउन जनमसमुदायलाई अपिल गरेकी छिन् । उनले भनेकी छिन्, ‘प्राकृतिक प्रकोप र विपदको बेला जोखिमयुक्त स्थानमा रहेका प्रदेशवासी जनसमुदायलाई उच्च सतर्कता अपनाउन तथा जोखिम अवधीभर (२८ असार, आइतबारसम्म) सुरक्षित स्थानमा रहन समेत यसै सूचनामार्फत विनम्र अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्