पोखरामा पहिरोमा परी ४ को मृत्यु,७ घाइते



साझापथ संवाददाता

पोखरा,असार २६ । पोखरामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पोखराको सराङकोट र हेम्जामा गएराति गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको र ७ जना घाइते भएका हुन् । 

पोखरा १८ सराङकोटस्थित टंकबहादुर थापाको घर बगाउँदा एकै घरमा रहेका १० जना पहिरोमा परेका हुन् । घर माथीको सडक भत्किँएर घर पुरिएको प्रहरीले जनाएको छ।

घरमा रहेका १० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते रहेका छन् । प्रहरी र स्थानीयको सहयोगमा उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । 

राति जन्मदिन मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए । हराएकाहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडिबाट पहिरो आउँदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्