म्याग्दीमा भीषण पहिरो, मराङ र बिमका २९ जना बेपत्ता



साझा पथ संवाददाता

म्याग्दी, २६ असार । अविरल वर्षापछि आएको पहिरोमा म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहान २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उजका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताउनुभयो । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

धवलागिरि गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिनुभयो । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ । मानवीय क्षति भने भएको छैन । ताकमकै देउबुजामा छ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले जानकारी दिए ।

यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हँुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

वर्षा भइरहेको र बादल लागेको तथा ठाउँठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए । बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्