भारतीय मिडियाको भूमिका खेदजनक : राप्रपा नेता गिरी



साझा पथ संवाददाता

काठमाडौं २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पत्रकार किरण गिरीले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय सञ्चारमाध्यमले अनर्गल एवं स्तरहीन प्रचारप्रसार खेदजनक तथा निन्दनीय रहेको बताएका छन् ।

शुक्रबार एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै पत्रकार गिरीले नेपाल-भारतबीच लामो समयदेखि रहँदै आएको राजनीतिक, सामाजिक एवं सांस्कृतिक संबन्धलाई भारतीय सञ्चारमाध्यमहरुले खलल पुर्‍याउने काम गरिरहेको आरोप लगाउँदै पत्रकारिता र अन्तर्राष्ट्रिय संचार मूल्य र मान्यताविपरीत भारतीय संचारमाध्यमबाट भइरहेका यी क्रियाकलाप भारत सरकारकै कद घटाउने काम गरिरहेकोले यसतर्फ भारत सरकार गम्भीर हुनु पर्ने बताए ।

उनले एउटा बेग्लै सवालमा प्रधानमन्त्री ओली अलोकतान्त्रिक र निरंकुश बाटो हिँड्न खोजेको आरोप पनि लगाएका छन् । संसदीय मूल्य र मान्यताविपरीत सभामुखसँग सरसल्लाह नै नगरी हठात संसदको अधिवेशन अन्त्य गरेर प्रधानमन्त्रीले संसदीय गरिमा को अवमूल्यन गरेको भन्दै लोकतान्त्रिक विधि प्रक्रिया र कमिटी निर्णयबाट आफूलाई माथि राख्न खोजेर निरंकुश बन्न खोजेको आशंका गिरीको छ ।

प्रधानमन्त्रीका बारेमा निर्णय र मूल्यांकन गर्ने काम नेकपाको हो तापनी सरकारले प्रतिपक्षी र संसदलाई निस्तेज पार्न नहुने धारणा राख्दै उनले
प्रधानमन्त्रीले यो वा त्यो बाहनामा आफ्नो पद मात्र सुरक्षित गर्न खोजेको आशंका व्यक्त गरेका छन् । २००७ सालदेखि नेपाली राजनीतिमा निर्णायक भुमिका खेल्दै आएको भारत २०७२ सालामा संविधानसभाले संविधान जारी गरेर निर्वाचन सम्पन्न भएपछि नेपालमा आफ्नो भूमिका कमजोर भएको महसुस गर्दै संचारमाध्यमबाट आफ्नो पीडा ब्यक्त गरेको हुन सक्ने अनुमान लगाउँदै गिरीले पछिल्ला दिनहरुमा नेपाली राजनीतिमा चिनको सक्रियता बढेको दिल्लीलाई असह्य भइरहेको हुन सक्ने अनुमान राखे ।

नेपालमा प्रधानमन्त्री कसलाई बनाउने र राख्ने भन्ने निर्णय गर्ने थलो नेपालको संघीय संसद र मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी भएकोले यो मामिलामा दिल्ली तथा बेइजिङको चासो र सक्रियता बढ्नु सार्वभौमसत्ता सम्पन्न नेपालको हितमा हुन सक्दैन भन्ने स्पष्ट धारणासमेत गिरीले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्