स्थानीय निर्वाचनका लागि रास्वपाले थाल्यो उम्मेदवार छनोटको तयारी
विराटनगर,कात्तिक ११। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको आन्तरिक तयारी तीव्र बनाएको छ। निर्वाचन नजिकिएपछि मात्रै उम्मेदवार छनोट गर्ने परम्पराभन्दा फरक रहेर पार्टीले समयअगावै आकाङ्क्षीको पहिचान, क्षमता परीक्षण र प्रशिक्षण प्रक्रिया अघि बढाएको हो।
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको पहिचान र तयारीलाई व्यवस्थित बनाउन खोजेको छ। उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सहभागितामूलक बनाउने उद्देश्यले पार्टीले आन्तरिक गृहकार्य अघि बढाएको जनाएको छ।
यसैक्रममा विराटनगर महानगर समितिले स्थानीय तह निर्वाचन केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ। विराटनगर बसपार्कस्थित आरके पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा महानगरका १९ वटै वडाका सभापतिसहित नगरपालिका, गाउँपालिका, जिल्ला, प्रदेश र केन्द्रीय तहका नेता, सांसद तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता थियो।
परम्परागत राजनीतिक दलहरूमा निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताको निर्णयका आधारमा उम्मेदवार छनोट तथा टिकट वितरण गर्ने अभ्यास रहँदै आएको छ। यसभन्दा फरक प्रक्रिया अपनाउने उद्देश्यसहित रास्वपाले निर्वाचनभन्दा अगाडि नै आकाङ्क्षी पहिचान गरी उनीहरूको क्षमता परीक्षण र प्रशिक्षणमा जोड दिएको हो।

