चाडपर्वमा बजार नियन्त्रण गर्न सरकार असफल भयो : कांग्रेस नेता केसी
काठमाडौं,कात्तिक ११ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्।
दशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा आम नागरिकले उत्सवको उल्लासभन्दा महँगी, बेथिति र राजनीतिक उदासीनताको सामना गर्नुपरेको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै केसीले सरकार गठन भएको सात महिना बितिसक्दा पनि नेतृत्व परिवर्तनले नागरिकको दैनिक जीवनमा परिणाममुखी र सार्थक परिवर्तन ल्याउन नसकेको टिप्पणी गरेका हुन्।
उनले दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा उपभोक्ताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजार नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए। नाममात्रको बजार अनुगमन र कालोबजारी गर्नेहरूलाई संरक्षण गरिएको जस्तो देखिने गरी भइरहेको मूल्यवृद्धिले मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्व खल्लो बनाएको उनको भनाइ छ।
खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको आर्थिक भार बढाएको उल्लेख गर्दै केसीले बजार अनुगमन र मूल्य नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुशासन र बजार व्यवस्थापनमा सुधार हुन नसकेको उनको टिप्पणी छ।

