सरकार ढाल्ने चर्चा विडम्बनापूर्ण र चिन्ताजनक : बाबुराम भट्टराई



काठमाडौं,कात्तिक ११। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नुलाई विडम्बनापूर्ण तथा चिन्ताजनक बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चा हुन थालेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले उन्नत बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनुका साथै सदन तथा सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक रहेको बताएका छन्।

निर्वाचनपछि पनि सरकार परिवर्तन गर्ने वा ढाल्ने खेल दोहोरिरहनुले देशलाई अनिश्चिततातर्फ धकेल्ने उनको भनाइ छ। विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसका दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै भट्टराईले यस्तो प्रवृत्तिले अर्थतन्त्र कमजोर बनाउने, युवालाई विदेशिन बाध्य पार्ने र देशलाई भूराजनीतिक जोखिममा पार्ने चेतावनी दिएका छन्।

भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर बन्न आग्रह गर्दै सरकार तथा राज्यका विभिन्न निकायमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका छन्। विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका तथा गरिब र निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ।

जनताको आवाज नसुन्ने सत्तासीनहरूलाई विधिसम्मत ढंगले दण्डित गरी पदबाट हटाउनुपर्ने धारणा राखेका उनले निर्वाचित सरकारलाई भने संविधानको परिधिभित्र रहेसम्म पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।

सरकारले काम गर्न नसके वा गलत काम गरेमा बीचमै सरकार ढाल्ने खेलमा लाग्नुभन्दा अर्को निर्वाचनमार्फत बिदा गर्नुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्