जाजरकोटको पहिरोमा परी १२ जना बेपत्ता



साझापथ संवाददाता

जाजरकोट, असार २६ । जाजरकोटको पहिरोमा परी १२ जना बेपत्ता भएका छन् । जाजरकोटस्थित बारेकोट गाउँपालिका– ४ सार्की गाउँमा गए राति अविरल वर्षा गएको पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका हुन । पहिरोमा बेपत्ता हुनेमा दुई घरपरिवारका घरमुली सहित परिवारका सदस्य रहेका छन् ।जस अन्तर्गत ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा सार्की , १३ वर्षीया छोरी लक्ष्मी सार्की  र ११ वर्षीय छोरा अर्जुन सार्की रहेका छन् ।

त्यस्तै अर्का घर मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा सार्की , ११ वर्षीया छोरी कमला सार्की  र छ वर्षीय छोरा सुवास सार्की रहेका छन् । त्यस्तै पाहुना आएका जाजरकोट कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिनुभयो ।

घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण सञ्चार  सम्पर्क गर्न समेत कठिनाइ  भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्