लगातार वर्षासँगै विभिन्‍न प्रदेशमा बाढीपहिरो, एकैदिन ठूलो जनधनको क्षति, गण्डकीमा १३, कर्णालीमा १० र प्रदेश ५ मा मृत्यु



काठमाडौं २७ असार । लगातार वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी, कास्की, लमजुङ, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम, कालीकोट र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

गण्डकी प्रदेशमा शुक्रबार मात्रै १३, कर्णालीमा १० र प्रदेश ५ मा तीन गरी २६ जनाको मृत्यु भएको छ । थुप्रै बेपत्ता र घाइते भएका छन् । कतिपय घर पुरिएको र जोखिममा छन् । धेरै परिवार विस्थापित भएका छन् । सडक, बाटोघाटोसमेत अवरुद्ध भएको छ ।

म्याग्दीको धौलागिरि, रघुगंगा र मालिका गाउँपालिकाका विभिन्न ठाउँमा बिहीबार रातिदेखि आएको पहिरो र बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । ३९ वटा घर पुरिएका छन् । धौलागिरि–६ मराङको पहिरोमा परी बेपत्ता भएका स्थानीय तुलबहादुर केसीको शुक्रबार साँझ शव फेला परेको छ । त्यही वडाको कल्लेनीमा अर्का एक जनाको शव देखिए पनि फेरि खसेको पहिरोले तलतिर हुत्याएकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा धौलागिरि–६ मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक र कम्दीका २१ जना, धौलागिरि–७ ताकमका ३, मालिका गाउँपालिका–७ र विमका आठ जना बेपत्ता छन् । दुवै गाउँपालिकाका गरी २ सय ४० जना अलपत्र परेका छन् । धौलागिरिको कल्लनीबाट प्रहरी र स्थानीयले ७० जनालाई उद्धार गरी सुरक्षित स्थलतर्फ लगेका छन् । पहिरोमा घाइते सात जनालाई पनि उद्धार गरिएको छ ।

बाढीपहिरोमा उद्धारका लागि सेना, प्रहरीसमेतको टोली म्याग्दीका विभिन्न स्थानको पैदलमार्गमा पहिरो पन्छ्याउँदै दरवाङदेखि अघि बढे पनि बाटो नहुनाले शुक्रबार साँझसम्म उनीहरू घटनास्थलमा पुग्न सकेका छैनन् । मुख्य घटनास्थल सदरमुकामदेखि ४० किलोमिटर पश्चिममा पर्छ । उद्धारका लागि आएका दुई हेलिकप्टर खराब मौसमका कारण बीचबाटै फर्किएका थिए । बाढीपहिरोबाट धौलागिरिको मराङमा २० घर, ताकममा ५ र मालिकाको विममा १० घर पहिरोमा पुरिएका छन् । त्यस्तै मालिका–५ देवीस्थानको खारवाङमा एक घर र मगरदाङमा २० किलोवाट क्षमताका लघु जलविद्युत् आयोजनाको पावरहाउस पुरेका स्थानीय सूर्यमुखी युवा क्लबका अध्यक्ष भक घर्तीमगरले बताएको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्