म्याग्दीमा पहिरो गएको बित्यो २४ घन्टा, बेपत्ताको खोजी र उद्धारमा कठिनाइ



साझा पथ संवाददाता
बेनी २७ असार । पहिरो गएको २४ घन्टा बितिसक्दा पनि म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको बेपत्ताको खोजी र उद्धारमा कठिनाइ भएको छ ।

प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण सुरक्षाकर्मी पुग्न नसक्दा शुक्रबार बिहान पहिरो गएको ठाउँमा उद्धार र खोजीमा ढिलाइ भएको हो । सडक र घोरेटोबाटो पहिरोले भत्काएकाले शनिबार बिहानसम्म सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न सकेका छैनन् । बेनी, दरवाङ र ताकमबाट गएको सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वमंसेवकको टोली बाटो नभएर सम्बन्धित ठाउँमा पुग्न नसकेका हुन् । मराङको कल्लेनीको पहिरोमा ताकम प्रहरी चौकीको टोली शुक्रबार दिउँसो पुगेको थियो । प्रहरीसहित उद्धारका लागि कल्लेनी हुँदै मराङ जान हिँडेका धारापानीका किरन थापाले गोरेटो र घोरेटो बाटो नभएकाले सम्बन्धित ठाउँमा पुग्न नसकेको बताए । मराङका वडाध्यक्ष राजाराम सुवेदीले जनप्रतिनिधि, स्थानीयवासी, युवा क्लब र आमा समूहका प्रतिनिधिले पहिरोमा फसेकाको उद्धार र बेपत्ताको खोजी गरिरहेको बताए ।

चारैतिर पहिरोले घेरिएको कल्लेनीका ५० जनाभन्दा बढीलाई गाउँपालिकाको अगुवाइमा उद्धार गरेर धारापानी र ताकम लगिएको छ । घण्टीवाङका पहिरोपीडित १३ परिवार आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा आएर बसेका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले स्थलमार्गबाट जान सम्भव नभएपछि सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मीलाई पहिरो प्रभावित ठाउँमा पुर्‍याउने तयारी भएको बताए ।

शुक्रबार दुई पटक गएको हेलिकप्टर मौसमको खराबीका कारण भिजिबिलिटी नभएर फिर्ता भएको थियो । पहिरोमा तीन दर्जन हाराहारीमा बेपत्ता भएका थिए । ११ शव भेटिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्