एक महिनाको अन्तरालमा बाढीपहिरोबाट ८८ को मृत्यु, ३२ बेपत्ता, म्याग्दीमै २७ को ज्यान गयो



काठमाडौँ, २७ असार । मनसुन सक्रिय भए पछिको २९ दिनमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् । अझै ३२ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी र राहत तथा पुनर्स्थापनाको काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार मुख्यगरी म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपद्बाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी म्याग्दीमा पहिरोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने सबैभन्दा बढी पहिरोमा परेर सिन्धुपाल्चोकमा २० जना हराइरहेका छन् । तराइका विभिन्न जिल्ला भने डुबान र कटानको समस्याबाट प्रभावित भएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा अकल्पनीय रुपमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । जङ्गलमाथिबाट भेलपहिरो खसेको थियो ।

असार ८ गते पाल्पाको तानसेन नगरपालिकास्थित सम्मोबारीमा फेरि अर्को विपद्को घटना दोहोरिँदा चार जनाले ज्यान गुमाए । बझाङमा असार २० गते त्यसैगरी पहिरो खस्दा सात जनाले ज्यान गुमाएका छन् । त्यहाँ अझै एकजना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । बझाङ र पर्वतको भेलपहिरो अकल्पनीय रहेकाले त्यहाँको पहिरो अध्ययन गर्न प्राविधिक समूह नै पठाइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् । उनका अनुसार यसपटकको अपत्यारिलो ठाउँको पहिराले कहालिलाग्दो क्षति पुर्‍याएको छ । त्यसपछि बिहीबार र शुक्रबार मुलुकका विभिन्न स्थानमा पहिरो खस्दा धेरै जनधनको क्षति भयो ।

म्याग्दीमा २७ को मृत्यु

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले आज साँझ राससलाई दिनुभएको विवरणअनुसार जिल्लाको धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी पहिरामा परेर २७ जनाको मृत्यु भएको छ । अझै चारजना बेपत्ता छन् । बेपत्ता भनिएका तीनजना सम्पर्कमा आएको ढकालले जानकारी दिए । । म्याग्दीमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरी केहीलाई काठमाडौँ र पोखरा पठाइएको र सात जनाको बेनीमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकमा अझै २० बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित जम्बुबजार र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको र अझै २० जना बेपत्ता भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक विवरणमा ५२ घर बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

कास्कीमा ७ को मृत्यु, १३ घाइते
कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडामा शुक्रबार पहिरोले जनधनको क्षति पुर्‍याएको थियो । कास्कीमा सातको मृत्यु भएको र १३ जना घाइते रहेको प्रजिअ ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सराङ्कोटमा ५, हेम्जामा १ र पैतेडाँडामा १ जनाको मृत्यु भएको थियो ।

जाजरकोट ९ जनाको मृत्यु

जाजरकोटबाट प्राप्त विवरणअनुसार नौ जनाको मृत्यु भएको छ । प्रजिअ जनकराज पन्तले राससलाई दिनुभएको जानकारीअनुसार त्यहाँको बारेकोट गाउँपालिका–४ लगायत स्थानमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको हो । अझै छ जना बेपत्ता नै छन् । उनीहरुको खोजी जारी रहेको र राहत तथा पुनस्र्थापनको काम चलिरहेको छ । अन्य जिल्लामा पनि मानवीय क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्