अवैध उत्खनन् र कानुनविपरीतका कार्य तत्काल रोक्न नेकपा लिखुको माग



नुवाकोट ३ साउन । नेकपा लिखु गाउँपालिका संगठन कमिटीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्‌को विरोधमा उत्रिएका स्थानीयमाथि खुँडा प्रहार गर्ने क्षेत्रपाल क्रसर उद्योग सञ्‍चालक र आपराधिक घटनामा संलग्नलाई कारबाही गरेको माग गरेको छ ।

अध्यक्ष मेघनारायण श्रेष्ठ र सचिव विवेक ढकालले शुक्रबार विज्ञप्ति निकालेर नदीमा अवैध उत्खनन् र कानुनविपरीतका कार्य तत्काल रोक्न र दोषीमाथि कारबाहीका लागि माग गरेका हुन् । ‘घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्य र कानुनले वर्जित गरेका यस्ता आपराधिक गतिविधिहरु तत्काल रोक्नका निम्ति र दोषीउपर हदैसम्मको कानुनी कारबाहीको लागि सम्बन्धित निकायहरुसमक्ष नेकपा लिखु जोडदार माग गर्दछ ।’

गत असार ३१ गते लिखगाउँपालिका ४ चौघडास्थित तादीखोलाबाट नदीजन्य पदार्थ हेभी इक्युप्मेन्ट (एक्स्काभेटर) प्रयोग गरी उत्खनन् गरिरहेको अवस्थामा स्थानीयले रोक‍्न अनुरोध गर्दा क्रसर सञ्चालक शैलेश श्रेष्ठ लगायतले धारिलो हतियार प्रयोग गरी दुई जनालाई सख्त घाइते बनाएका थिए । घाइते हुनेमा लिखु ४ का २२ वर्षीय सन्तोष राई र २९ वर्षीय अनिष राई छन् । उनीहरु काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ ।

नेकपा लिखुले सम्पूर्ण सरोकारवाला लिखुवासीलाई सामाजिक सद्‍भाव कायम राखी संयमित रहन अनुरोध गरेको छ । स्थानीयमाथि आक्रमण गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दर्ता भइसकेको छ । संघीय कानुनअनुसार क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालन गर्नुपर्ने प्रावधान छ । तर उक्त क्रसर उद्योगले लिखु गाउँपालिकाबाट अनुमति लिएर ढुंगा, गिटी र बालुवा निकालिएको बताएको छ ।

जिल्ला समन्वय समितिले हालै असार, साउन र भदौ मसान्तसम्म कुनै नदीजन्य पदार्थ झिक्न रोक लगाए पनि लिखु लगायत जिल्लाभर उत्खनन् रोकिएको छैन ।

सम्बन्धित समाचार

विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्