नेपालमा पहिलो पटक कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार



काठमाडौं साउन १८
नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् ।

अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा डा सन्तकुमार दासका अनुसार सुरूमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ ।

विराटनगरका यी संक्रमितलाई केही दिनअघि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।कोरोनाबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारमा प्लाज्मा थेरापी उपयोगी मानिन्छ ।

यसको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन् । यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ ।

प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ ।

जसरी एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्णरूपले निको हुन्छ । यदि अहिले निको भएका बिरामीले रगतको प्लाज्मा दान गर्ने हो भने कोरोनाबाट गम्भीर अवस्थामा पुगेकाको ज्यान बचाउन सकिन्छ ।

रगतको प्लाज्मा दान गर्दा दान गर्ने व्यक्तिलाई कुनै हानी गर्दैन । यो रक्तदान जस्तै भएको बिज्ञ बताउछन् । सरकारले कोरोनाले गम्भीर भएका आइसीयू र भेन्टिलेटरमा पुगेका बिरामीको उपचारमा निको भएका बिरामीको रगतको प्लाज्मा लिन तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्