कोरोना संक्रमण समुदायबाट समूह-समूहमा फैलिँदै



काठमाडौं, साउन २२ । कोरोना भाइरसको संक्रमण समुदायबाट समूह समूहमा फैलिएको देखिन थालेको छ । बितेका केही दिनयता कोरोना संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको विज्ञहरुले बताएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘अन्तरजिल्लामा आवतजावत पूर्णतः बन्द गर्नुपर्छ । भारतबाट नेपाल आउन रोक लगाउनुपर्छ ।’

संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट नेपाल फर्किएका चिकित्सक तथा अनुसन्धानकर्ता डा रमेश आचार्यले संक्रमण समुदायबाट समूह समूहमा फैलिन सुरु गरिसकेको बताए । उनले भने, ‘समुदायबाट समूह समूहमा संक्रमण फैलिसकेको छ । समयमा नियन्त्रण गर्न नसकिए स्थिति अझै भयावह भई गम्भीर क्षति बेहोर्नुपर्ने हुन सक्छ ।’

जनस्वास्थ्य विज्ञहरूले हेलचेक्रयाँइ गरिए स्थिति अनियन्त्रित हुन सक्ने भन्दै सावधानी अपनाउनुको विकल्प नरहेको बताएका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण अझै समूह समूहमा फैलिनसकेको बताएको छ ।

यो समाचार  राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्