विश्वकप छनोटको तयारीका लागि एन्फाको प्रोटोकल तयार



काठमाडौं साउन २२

अखिल नेपाल फुटबल संघ एन्फाले भदौ पहिलो सातादेखि नेपाली टिमको तयारी गर्नको लागि प्रोटोकल तयार गरेको छ।

एन्फाले कोरोनाबाट सुरक्षित रहनका लागि हाइजेनिक प्रोटोकल लागू गर्ने जनाएको छ। जसमा चेन्जिङ रूममा कम समय बिताउनु पर्ने, सबै खेलाडी र अफिसियललाई कोरोनाको विषयमा जानकारी दिने, अभ्यासमा दर्शकलाई निषेध गरिने, खाना समूहमा खान नपाइने तथा सामाजिक दूरी बनाएर खानु पर्ने लगायतको छ।

यस्तै अभ्यासमा दौरान एक खेलाडीले एउटा बोतलले मात्र पानी खानु पर्ने पनि प्रोटोकलमा उल्लेख छ। यस्तै अभ्यास स्थल नियमित निर्मलीकरण गर्नु पर्ने र अभ्यास स्थलमा सानिटाजर राख्नु पर्नेछ।

एन्फाले सबै खेलाडीको एकै पटक अभ्यास नगरेर र समूह समूह बनाएर अभ्यास गर्ने जनाएको छ। साथै फिफा र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार खेलाडीको प्रशिक्षण हुनेछ।

तयारी सुरू गर्नुअघि एन्फा होस्टल र एन्फा सचिवालय बिहीबार निर्मलीकरण गरिएको छ। विश्वकप तयारीका लागि ३३ जना राष्ट्रिय फुटबलर अहिले क्वारेन्टिनमा छन्। केहि खेलाडी घरमा र कतिपय होटलमा क्वारेन्टिनमा बसेका छन्।

क्वारेन्टिनमा रहेका खेलाडीसहित प्रशिक्षक र अन्य अफिसियलको केहि दिनमै पिसिआर परीक्षण गरिने एन्फाले जनाएको छ। परीक्षणको नतिजा पोजेटिभ आएका सबैलाई एन्फा होस्टलमा राखिनेछ। अनि अभ्यास सुरू गरिनेछ।

नेपालले फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको लागि भदौ पहिलो सातादेखि तयारी थाल्न लागेको हो।

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ एएफसीले फिफालाई प्रस्ताव गरेको छ।

स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्