गम्भीर लक्षण भएका सङ्क्रमित बढेकाले आईसीयू र भेन्टिलेटरको सङ्ख्या बढाऊन सरकारलाई चिकित्सक संघको आग्रह



काठमाडौं साउन २३ ।
नेपाल चिकित्सक सङ्घले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग आग्रह गरेको छ ।

सङ्घले विज्ञप्तिमार्फत पछिल्लो समय थपिएका सङ्क्रमितमा गम्भीर लक्षण देखिएको हुँदा तत्कालै उपचार आवश्यक पर्ने देखिएकाले भेन्टिलेटरसहितका आईसीयू बेड, जनरल बेड, अक्सिजन र औषधीको मात्रा तत्कालै बढाउन आग्रह गरेको हो ।

सङ्घले सरकारी अस्पतालले धान्न नसक्ने भएकाले निजी अस्पताललाई पनि उपचारमा संलग्न गराउन माग गरेको छ । अत्यन्तै जोखिमपूर्ण अवस्थामा काममा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकको जोखिम भत्तामा विभेद नगर्न पनि चिकित्सक सङ्घको माग छ ।

नेपालमा अहिलेसम्म ८० भन्दा धेरै स्वास्थ्य संस्थाका ५१ जना डाक्टर र एक सय ७० जना स्वास्थ्यकर्मी गरी दुई सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्