नुवाकोट ककनीका बाढीपीडित सात परिवारलाई ३ लाख १५ हजार रुपैयाँ सहयोग
नुवाकोट,कात्तिक ११ । भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको बाढीबाट मृत्यु भएका तथा बेपत्ता भएकाका परिवारलाई ककनी गाउँपालिकामा नगद राहत सहयोग हस्तान्तरण गरिएको छ।
ककनी गाउँपालिका–२ का स्थानीय देवराज घिमिरेको विशेष पहलमा अस्ट्रेलियास्थित उहाँ कार्यरत संस्था अस्ट्रेलियन भेन्यु कम्पनीबाट संकलित रकम पीडित परिवारलाई प्रदान गरिएको हो।
घिमिरेकी आमा चन्द्रावती घिमिरेले गाउँपालिका अध्यक्ष सुमन तामाङ सज्जन, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेल तथा वडा अध्यक्षहरूको रोहवरमा सात परिवारलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले कुल ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो।
राहत प्राप्त गर्नेमा वडा नम्बर १ का अर्जुन बलामी, वडा नम्बर २ का संयम रुम्बा, आशिक घिमिरे र कुमार तामाङ, वडा नम्बर ३ का विकास तामाङ तथा वडा नम्बर ६ का दीपकबहादुर लामा र सुजन तामाङ रहनुभएको छ।
राहत वितरण कार्यक्रममा अस्ट्रेलियामा रहनुभएका देवराज घिमिरेलाई भिडियो कलमार्फत प्रत्यक्ष जोडिएको थियो।
गाउँपालिका अध्यक्ष तामाङले विदेशमा रहेर पनि जन्मभूमिमा विपत्ति पर्दा राहत जुटाउन पहल गरेकोमा घिमिरे र सहयोग गर्ने अस्ट्रेलियन भेन्यु कम्पनीका सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त सहयोगले बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

