प्रचण्ड, प्रचण्ड भएको भए…



युवराज लामा

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड अहिले पुष्पकमल दाहाल हुन बाध्य भएका छन् । यदि माओवादी जनयुद्धको सर्बोच्च कमान्डर अरु नै भएको भए अन्य सहयोद्धा साथीहरुले जस्तै प्रचण्डले पनि नेतृत्‍वसँग असन्तोष जनाउँदै माओवादी आन्दोलन ठीक भएन भनेर आफ्नो छुट्टै दल बनाएर अथवा राजीनामा दिएर आनन्दले बस्थे होला । तर जनयुद्धको क्रममा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकनपछि शान्ति सम्झौता अनि जनयुद्ध र जनाअन्दोलनद्वारा स्थापित गणतन्त्र, संघीयता, समावेशी, धर्मनिरपेक्ष राज्यको पुनर्संरचनाको नेतृत्व गरेको हुनाले प्रचण्डले नेतृत्वबाट बाहिरिने र अरुलाई गाली गरेर राजनीति गर्ने उनलाई छुट छैन । अनि अलग बस्न सक्दैन र कुनै पनि सर्तमा बस्न हुँदैन निरन्तर संघर्श, क्रान्ति र क्रमभङ्ग गर्दै अगाडि बढ्नुको विकल्प छैन । लेनिनले भन्नु भएको थियो क्रान्तिकारीहरु भूमिगत संघर्षबाट राज्य सत्तामा पुगेपछि पद र पैसाबाट बचाउने चेतना भएन भने क्रान्ति र दल बिसर्जनतिर जान्छ भनेर कमरेड लेनिनले राज्य र क्रान्ति पुस्तकमा लेख्नु भएको थियो ।

त्यस अर्थ माओवादी सहयोद्धा साथीहरुले हतार गरेर प्रचण्ड नेतृत्व माओवादी दल छोडेर बिभिन्न नाममा चोइटिनु हुन्‍न थियो, हुँदैन थियो । त्यस्को राजनीतिक र ब्यक्तिषत रुपले फाइदा कस्लाई भयो भनेर समीक्षा भविष्यले गर्ला ! यद्यपि माओवादी क्रान्तिकारीहरुको मनोविज्ञानमा निश्चितै कमजोर पारेको देखिन्छ, तसर्थ प्रचण्डलाई अप्राकृतिक समीकरण र सम्झौता गर्दै अगाडि बढ्नु परेको देखिन्छ । जनयुद्धका इमान्दार क्रान्तिकारी जनयोद्धा घाइते कार्यकर्ताहरुको उचित व्यवस्थापन गर्ने योजना उपयुक्त नभएकोले जस्को शक्ति उस्को भक्ति परिवेश भएकोले कमान्ड कन्ट्रोलमा बस्ने कार्यकर्ताहरु समाजमा समावेश (integrate) हुँदा निकै अफ्ठ्यरोमा परेको गुनासो सुनिन्छ ।

गर्विलो इतिहास र ग्लानी मन लिएर जनयुद्ध सेनानीहरु जीवन र जगतसँग एकाकार भएर क्रान्तिकारीहरु सुषुप्त हुन पुगेका छन् । राज्यको पुनर्संरचना, नयाँ संविधान संसदीय व्यवस्थाको निर्मम खेलको बीच खेलको नियमअनुसार खेलेन भने मैदानबाटै आउट हुन्छ भन्ने कुरा प्रचण्डले संसदमा नै बोलेका थिए । त्यसैले समय परिस्थिति र माओवादी केन्द्र नेता कार्यकर्ताको मूल्याङ्कन गर्दै आफूले नै घोषणा गरेका नस्लवादी दल नेकपा एमाले, जस्को अध्यक्ष गणतन्त्र, संघीयता समाविशीको विपक्षमा अभिव्यक्ति दिएका संसदीय व्यवस्थाका धुरन्धर खेलाडी खड्कप्रसाद ओलीसँग कमुनिस्ट एकता समाजवादसम्म पुग्ने यात्रााको नारा साथ नयाँ दल गठन गर्ने सझौता गर्न प्रचण्ड बाध्य भए । यदपि नेकपा एमालेभित्र धेरै इमान्दार क्रान्तिकारी नेता कार्यकर्ताहरु थिए र छन् ।

आज प्रचण्डको साथ जनयुद्धका सहयात्राी नेताहरु भएका थिए भने प्रचण्ड, प्रचण्ड भएको भए खुमलटार-बलुवाटार कोटेश्वर र भैसेँपाटी कुइरोमा हराएको काग जसरी हिँडिरहनु पर्दैन थियो होला । पुष्पकमल दाहाल भएकोले हिँडिरहनु परेको छ । पुष्पकमल दाहालको अर्को विकल्प पनि छैन होला तर जुन दिन पुष्पकमल दाहाल प्रचण्ड हुन्छ त्यो दिनदेखि पुन: एउटा नयाँ अध्याय निरन्तरताको क्रमभङ्ग हुन सक्छ । अरुले जसरी प्रचण्डले राजनीतिक संघर्षबाट बिमुख हुने र राजनीति अरुलाई बुझाउने विकल्प छैन ।

(लेखक राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव हुन्)

प्रतिक्रिया दिनुहोस्