नेपालले खेल्ने विश्वकप छनोट पुन: स्थगित



काठमाडौं साउन २८ ।

नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन
कप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन एएफसीले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको एएफसीले जनाएको छ ।

तर, एएफसीले नयाँ मिति भने घोषणा गरेको छैन । नयाँ मिति कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले जनाएको छ ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।
यस अघि नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय भएको थियो ।

नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दा त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका थियो ।

समूह ुबीु मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

नेपालले विश्वकप छनोटमा लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी समेत गरेको थियो । जसको लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीको कोरोना परिक्षण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्