बार्यन म्युनिखसंग लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो



एजेन्सी,साउन ३१ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बायर्न म्युनिखसंग बार्सिलोनालाई लज्जास्पद हार हात लागेको छ ।

शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको थियो  ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाएसँगै टीमले अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

हारसंगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताबाट बाहिरिएको छ । मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे ।

मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

खेलको ५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारेका थिए । त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो ।

जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।

बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्हो बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

खेलको ८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।

पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्