नुवाकोटमा कोरोना संक्रमण बढेको बढ्यै, कुन पालिकामा कति संक्रमित ? [सूचीसहित]



साझा पथ संवाददाता
नुवाकोट,भदौ २ । नेपालको केन्द्रीय राजधानीसँग जोडिएको जिल्ला नुवाकोटमा कोरोना भाइरस संक्रमण फैलिँदै गएको छ ।

जेठ ७ गते पहिलो संक्रमित पुष्टि भएको नुवाकोटमा सोमबारसम्ममा ७० जना संक्रमित पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामै कोरोना संक्रमित फेला परिसकेको जानकारी गराए । उनका अनुसार पछिल्लो तथ्यांक अनुसार १३ महिला ५७ पुरुष संक्रमित भएका छन् । जसमा केही जनप्रतिनिधिसमेत रहेका छन् ।

यो रिपोर्ट तयार पार्दा संयोग के पर्‍यो भने जेठ ७ गते पहिलो संक्रमित पनि पुरुष र सोमबार कोरोना पुष्टि भएका पनि पुरुष परेका छन् । सूचना अधिकारी खनालका अनुसार हालसम्म ५४ जना डिस्चार्ज भइसकेका छन् भने १६ जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये त्रिशूली अस्पतालको आइसोलेसनमा ७, खरानीटार आइसोलेसना ४ र काठमाडौं अन्तर्गत ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । सोमबारसम्मको रिपोर्टअनुसार उपचाररत सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी खनालले साझा पथलाई बताए ।

नुवाकोटमा समुदायस्तरमा नै संक्रमण

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार नुवाकोटमा समुदायमा संक्रमण देखिएका छन् । क्‍वारेन्टाइनका व्यक्तिबाट संक्रमण पुष्टि भएको जिल्लामा ७० संक्रमितमध्ये ३१ जना समुदायका छन् । ४९ जना भने क्‍वारेन्टाइन बसेकामा कोरोना पुष्टि भएको सूचना अधिकारी खनालले प्रस्ट पारे ।

कुन पालिकामा कति ?

  • विदुर नगरपालिका १९
  • तारकेश्वर गाउँपालिका १६
  • दुप्चेश्‍वर गाउँपालिका ७
  • तादी गाउँपालिका ५
  • बेलकोटगढी नगरपालिका ४
  • मेगाङ गाउँपालिका ४
  • पञ्‍चकन्या गाउँपालिका ४
  • किस्पाङ गाउँपालिका ३
  • लिखु गाउँपालिका ३
  • सूर्यगढी गाउँपालिका २
  • ककनी गाउँपालिका २
  • शिवपुरी गाउँपालिका १

प्रतिक्रिया दिनुहोस्