कोरोना अपडेट:मंगलबार थप ४ को मृत्यु



काठमाडौं,भदौ २ । नेपालमा कोरोना संक्रमणका कारण आज थप ४ जनाको मृत्यु भएको छ ।

मंगलबार थपिएकामध्ये ललितपुर, काभ्रे, बाँके र पोखराका गरी ४ जना रहेका छन् । कोरोना संक्रमित नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको आज उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । गिरी भाइरस संक्रमित रहेको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । यता काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिका वडा नम्बर ७ का ९८ वर्षिय पुरुषको आज मृत्यु भएको हो । यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । यससगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १३ पुगेको छ ।

मंगलबार थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । चितवनमा अवस्थित भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित ५० जनामा कोरोना पुष्टि भएको हो । सोमबार ३ सय ५५ नमुना परिक्षण गरेकोमा ५० जनाको पोजेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयो ।

नयाँ संक्रमितहरुमा चितवनका ४६ जना, मकवानपुरका एक जना, बाराका दुई जना र गोरखाका एक जना रहेका छन् । नया संक्रमित मध्ये सबै भन्दा धेरै चितवनको राप्ती नगरपालिका वडा नं ६ का ४२ जना रहेका छन् । त्यस्तै भरतपुर महानगरपालिकाका ४ जना रहेका छन् । उता बारा र पर्सामा थप ६६ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा ५५ र बारामा ११ जनामा कोरोना पुष्टि भएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्