एनपिएलमा आज विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै
काठमाडौँ,कात्तिक १०। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। पहिलो संस्करणमा निराशाजनक प्रदर्शन गरेको विराटनगर दोस्रो संस्करणमा दोस्रो क्वालिफायरसम्म पुगेको थियो।
यता, कुशल मल्लको कप्तानीमा रहेको चितवन पनि जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ। एनपिएलका अघिल्ला दुई संस्करणमा खेलाडीका रूपमा सहभागी भएका पाकिस्तानी खेलाडी सोहेल तनविर यसपटक चितवनको प्रशिक्षक बनेका छन्।
विराटनगर र चितवनबीच अघिल्ला दुई संस्करणमा भएका खेलमा दुवै टोलीले एक–एक जित निकालेका छन्। पहिलो संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले हराएको थियो। उक्त खेलमा विराटनगरले पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो भने चितवनले ६ विकेट गुमाएर १३० रन मात्र बनाउन सकेको थियो।
दोस्रो संस्करणमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो। चितवनले पाँच विकेट गुमाएर १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमै समेटिएको थियो। चितवन पहिलो संस्करणमा प्लेअफसम्म पुगेको थियो।
आजको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। साँझ ५ बजे सुरु हुने खेलमा पहिलो संस्करणको विजेता जनकपुर यसपटक पनि उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यमा हुनेछ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली पनि जनकपुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ। दुवै टोलीका लागि पहिलो खेलको नतिजाले प्रतियोगिताको सुरुवाती लय निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

