बाढीको ६२ दिनपछि स्याफ्रुबेशीका विस्थापित गाउँ फर्किए
रसुवा,कात्तिक १० । भोटेकोशी बाढीका कारण विस्थापित भएका रसुवाको स्याफ्रुबेशीका बासिन्दा ६२ दिनपछि आफ्नै गाउँ फर्किएका छन्। काठमाडौंको नागार्जुनस्थित गोसोक गुम्बामा रहेको अस्थायी आश्रयस्थलमा बस्दै आएका उनीहरू सोमबार गाउँ फर्किएका हुन्।
आमाछोदिङमो गाउँपालिकाका समाजसेवी तथा युवा नेता मनबहादुर तामाङको यातायात व्यवस्थापनमा विस्थापितहरू गाउँ फर्किएका हुन्। स्याफ्रुबेशी पुनर्निर्माण तथा पुनर्स्थापना समितिका अध्यक्ष भुजुङ तामाङ र वडाका कार्यवाहक अध्यक्ष डोल्मा याङजेन थोक्राको नेतृत्वमा उनीहरू गाउँ फर्किएको अध्यक्ष तामाङले जानकारी दिएका छन्।
भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले स्याफ्रुबेशी बस्तीलाई बगरमा परिणत गरेपछि स्थानीय बासिन्दा विस्थापित भएका थिए। विस्थापित अवस्थामा रहेका स्थानीयलाई गाउँमा खानपान तथा बसोबासको व्यवस्था गोसाइँकुण्ड इङ्लिस बोर्डिङ स्कुल स्याफ्रुबेशीका सञ्चालक तथा समाजसेवी राजु लामाले गरेको समितिका अध्यक्ष भुजुङ तामाङले बताए।
समितिका सचिव छिरिङ तेन्जिन तामाङका अनुसार बाढीका कारण स्याफ्रुबेशीका १९३ घरधुरी विस्थापित भएका छन्।
लामो समयसम्म अस्थायी आश्रयस्थलमा बस्न बाध्य स्थानीय गाउँ फर्किए पनि बाढीले क्षतिग्रस्त बस्तीको पुनर्निर्माण र प्रभावित परिवारको सुरक्षित पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको छ। गाउँ फर्किएका परिवारको सुरक्षित बसोबास र जीवनयापन सहज बनाउन आवश्यक व्यवस्थापन गर्नु अबको प्रमुख आवश्यकता देखिएको छ।

