नैतिकताको स्मरण गराउने दिन-कुशे औंशी



• रमेशकुमार महत

आज भाद्र कृष्ण औंशी, बुबाको मुख हेर्ने दिन अर्थात कुशे औंशी । भनिएको छ “पितृदेवो भव:” अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले बाबुलाई विशेष सम्मान गर्ने गर्दछन् । त्यसैले आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ।

आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा रहिआएको छ। बुबाको निधन भएकाहरु आजका दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ। आजको दिन गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ। गोकर्णेश्वर-उत्तरगया,बेत्रावती-उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ। आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्दछ ।

आजकै दिन मनाइने कुसेऔंशी पर्व आज घरघरमा पवित्र कुश भित्र्याईन्छ । सनातन वैदिक हिन्दू धर्मावलम्बीहरुले वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू द्वारा शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् र कुशलाई घरको मुल ढोका माथि राख्ने गरिन्छ जसको कारण सम्पुर्ण घरको रक्षा हुने मान्यता रहि आएको छ। कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी कुशलाई घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

आज भोली छोरा छोरी भौतिक सुख सुविधा र आधुनिकतावाद नाममा आफुलाई जन्मदिने बाबु आमा प्रतिको ममता कतै हराऊदै गएको पनि पाईन्छ । व्यस्त जीवनकों कारण बाबु आमालाई बृद्दाश्रम र यसै अलपत्र भएका घटनाहरु पनि पाईन्छ ।आजको यस दिनले बाबु प्रतिको स्नेह र गर्नु पर्ने कर्तव्य स्मरण गर्राऊने दिन पनि हो आजको औंशीको दिन ।

प्रतिक्रिया दिनुहोस्