भद्दा प्रकृतिको संसद्को ‘ब्याच पिन’ फिर्ता, सुनको खर्च कसले बेहोर्ने भन्‍नेमा विवाद



काठमाडौं ३ भदौ । संघीय सांसदहरुका लागि निर्माण गरिएको नयाँ ‘ब्याच पिन’ निर्माणकर्तालाई नै फिर्ता गरिएको छ ।

संसद्को लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै संसद सचिवालयले फेरि बनाउन भन्दै बुधबार फिर्ता गरेको जनाएको हो । संघीय संसद्का दुवै सदनका सदस्यहरूका लागि भन्दै ३ सय ५० ब्याच पिन (लोगो) निर्माण गरिएको थियो । ती लोगोप्रति सांसदहरूले नै आपत्ति जनाएपछि निर्माणकर्ता वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता दिइएको हो ।

मंगलबार साँझसम्म १ सय ९० लोगो फिर्ता गरिएको र बाँकी लोगोहरू पनि फिर्ता गर्ने चरणमा रहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । तर लोगोमा राखिएको सुन पुनः प्रयोगमा नआउने भएपछि त्यसको खर्च कसले बेहोर्ने भन्नेमा भने निर्माण गर्ने कार्यालय र संसद् सचिवालयबीच विवाद देखिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा, संसदका महासचिव भरतराज गौतम, सचिवहरू र अन्य अधिकारीले लोगो निर्माणको जिम्मा पाएको ललितपुरमा कार्यालय रहेको घरेलु तथा साना उद्योग कार्यालयलका अधिकारीसँग छलफल गरेका थिए । सिंहदरबारस्थित संसद सचिवालयमा मंगलबार भएको छलफलमा लोगो फिर्ता गरेर नयाँ बनाउने भन्नेमा सहमति भएपनि लोगोमा प्रयोग भएको सुनको खर्च कसले बेहोर्ने भन्नेमा विवाद देखिएको थियो । प्रत्येक लोगोमा २ लाल सुन लागेको संसद् सचिवालयले जनाएको छ ।

लोगोमा ८७ ग्राम सुन प्रयोग भएको र त्यसको खर्च ‘६ लाख ८२ हजार रुपैयाँ’ संसद सचिवालयले जनाएको दिए ।

प्रतिक्रिया दिनुहोस्