आज तीजको दर खाने दिन, यी खानेकुराहरु खानाले भोलीको व्रतलाई सघाउँछ



काठमाडौं,भदौ ४ । हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाने चलन छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ ।

विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने गरिन्छ । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार व्रत बसी, भगवान शिवको पूजा आराधाना तथा नाचगान गर्ने गर्छन् । यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरीचेली लाई घरमा बोलाएर मीठा(मिठा परिकार खुवाउने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँउमा पनि मनाइन्छ । विगतका वर्षहरुमा तीजका नाममा एक महिना अगाडी देखी नै विभिन्न होटेल रेस्टुरेन्ट, पार्टी प्यालेस दर खाने कार्यक्रम गरिनथ्यो भने यस वर्ष कोरोना महामारीका कारण तीजको दर घरभित्रै सिमित हुने देखिएको छ ।

दरमा के–खाने, के–नखाने ?

दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । अघिल्लो दिन मसलायुक्त र चिल्लो खाने तर भोलिपल्ट केही नखाँदा पेटको समस्या देखिनुका साथै शरीरमा ग्लुकोजको मात्रा कम भएर बिरामी हुने खतरा रहन्छ । अखाद्य रङ तथा केमिसकल मिसिएका मिठाईले पेट दुखाउने, बान्ता गराउने, पखाला लगाउने एवं फुड प्वाइजनिङलगायत समस्या ल्याउँछन् । दरमा दही, फलफूल, हरियो सलाद आदि समावेश गर्नु र व्रतको दिनमा पनि आफ्नो शरीरको ख्याल गरी आवश्यकताअनुसार फलफूल र पानी खानु राम्रो हुन्छ । ब्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने । धेरै खानु हुँदैन थोरै खानाले भोलि तन्दुरुस्त रहन मद्दत गर्छ ।

व्रतमा फलफूल खानैपर्छ

मानिसलाई दैनिक दुई हजारभन्दा बढी क्यालोरी शक्ति चाहिन्छ । उक्त शक्ति खानाबाट प्राप्त हुन्छ । खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन । यस्तो बेलामा प्रोटिन र केही भिटामिनको कमी हुन सक्छ । खाना नखाँदा उक्त शक्ति प्राप्त गर्न नसक्ने भएकाले शरिर कमजोर हुँदै समस्या निम्तिन्छ । त्यसकारण व्रतका दिनमा अन्न वा खाद्यान्न सेवन नगरे पनि फलफूल भने सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ ।

धेरै नखाने

शरीरले धान्नै नसक्ने गरी धेरै खाँदा विभिन्न झाडापखाला जस्ता समस्या हुनुका साथै अन्य स्वास्थ्य समस्या समेत हुन सक्छ ।

स्वच्छ खाने

वर्षातको मौसम छ । यो मौसममा बजारका खानेकुरा तथा सागसब्जी अस्वस्थ पनि हुन सक्छ । राम्रोसँग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । घरमै बनाइएको ताजा र पोषिलो खाना खानुपर्छ । बासी, सडेका, ढुसी परेका खानेकुराबाट टाढा रहनुपर्छ । दरका लागि बनाइएको खानेकुरा नसिद्धिएर पछिका लागि राखेर खाँदा स्वास्थ्यमा समस्या हुन सक्ने भएकोले ताजा र स्वच्छ खानेकुरा मात्र खानुपर्छ ।

भारी खाना नखाने

दरमा माछा मासुजस्ता परिकार खाने चलन पनि छ । यस्तो परिकार धेरै मात्रामा खानु स्वास्थ्यमा समस्या निम्त्याउनु हो । माछा मासु र अन्य परिकार खाँदा धेरै मरमसला हालेर पकाइएको सकेसम्म नखानु राम्रो हुन्छ । तीजको अघिल्लो रात खाइने दरमा समावेश खानेकुरामा नुन, पिरो र मसलाको मात्रा कम हुनुपर्ने खाद्य प्राविधिज्ञ बताउँछन् । तेलमा तारेको खानेकुरा धेरै खाँदा पेटका विभिन्न समस्या देखिन सक्ने बताउँछन् । नुन धेरै सेवन गर्दा धेरै प्यास लाग्ने भएकोले निर्जल व्रत बस्नेलाई समस्या हुन सक्छ । निर्जल व्रत बस्न चाहनेलाई निरुत्साहित रोक्न त सकिँदैन । तर, व्रत बस्दा पानीसम्म पिउन विज्ञले सुझाव दिने गरेका छन् ।

पोषिलो खाने

पोषणका लागि दरमा दुग्ध खाद्य पदार्थ खानु राम्रो मानिन्छ । दूध, दही, मखन, घिउ जस्ता खानेकुराले शरीरलाई लामो समय शक्ति दिने खाद्य प्राविधिज्ञ बताउँछन् । व्रतको राति अबेर खाएर शरीरलाई व्रतका लागि तयार गर्नु उपयुक्त हुन्छ । मधुमेह, रक्तचाप, ग्याष्ट्रिकका समस्या भएका बिरामीले दर खाँदा खानाको सन्तुलनमा विशेष ध्यान दिनुपर्छ । यस्ता बिरामीले सकेसम्म निराहार व्रत नबस्नु राम्रो मानिन्छ । व्रतको बेला नाचगानका धेरै शक्ति खेर फाल्नु पनि अनुपयुक्त हुन्छ । धेरै परिश्रम पर्दा लिभरमा जम्मा भएको ग्लुकोज सिद्धिएर कमजोरी तथा बेहोस हुने सम्भावना हुन्छ । त्यसैले व्रतको समय शरीरलाई भार पर्ने गतिविधि कम गर्नुपर्छ । दरको नाममा मादक पदार्थ सेवन गर्नु विसंगति हो । तीजभन्दा धेरै दिनअघि हुने गरेका दर कार्यक्रममा मदिराजस्ता हानिकारक कुरा प्रयोगलाई निरुत्साहित गरिनुपर्छ ।

कस्ता व्यक्तिले व्रत बस्ने र कसरी बस्ने ?

१. नियमित औषधी प्रयोग गर्ने महिलाको लागि तीजको निरहार व्रत उपयुक्त हुँदैन । पानी पनि नखाइ व्रत बस्दा उनीहरुको ज्यान पनि जान सक्छ ।

२. यदि व्रत बस्नै पर्ने अवस्था भए पानी तथा फलफुल खानुपर्छ र औषधी त छुटाउनै हुँदैन ।

३. शरीर कमजोर हुनेहरुले व्रत बस्दा शरीर झन् कमजोर हुनसक्छ । त्यसैले बिरामी भएका महिलाहरुले व्रत नबस्दा ठिक हुन्छ ।

४. तीजमा व्रत बसेका महिलाहरु मन्दिरमा पुजा गर्न धेरै भीडभाड भएको ठाउँमा लाईनमा बस्छन् । यसले भोको शरीर झनै थाक्छ । त्यसैले पानी पिउनुपर्छ ।

५. तीज भन्ने वित्तिकै व्रत मात्र होइन रमाइलो र नाचगान पनि उत्तिकै हुने पर्व हो । तर तीजमा व्रत बसेका महिलाले खाली पेटमा नाच्दा पनि ख्याल गर्नुपर्छ । आफ्नो स्वास्थ्य अवस्था हेरेर मात्र नाच्नुपर्छ । धेरै नाच्दा रिंगटा लागेर वेहोस हुने सम्भावना हुन्छ । जसका कारण स्वास्थ्यलाई ख्याल गरेर मात्र मनोरञ्जन गर्दा फाइदा पुग्छ ।

कस्ता महिला व्रत नबस्ने ?

गर्भवती, मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएका वा अन्य कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हुँदैन् । वृद्धावस्थाका र कमजोर शारिरीक अवस्था भएका महिलाले समेत सकेसम्म व्रत नबस्दा राम्रो हुन्छ । यदि बस्नैपर्यो भने पनि फलफूल र पानी प्रशस्त मात्रामा खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्