कालोसूचीमा परेको ओम्नीद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं भदौ ५ ।

कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएको विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ ।

स्वास्थ्य सेवा विभागले गरेको खरिद सम्झौता रद्धको निर्णयविरुद्ध उसले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको हो । ओम्नीका सञ्चालक पारस केसीका वारेस अमीर लामिछानेले दायर गरेको रिटमा स्वास्थ्य सेवा विभागले २०७६ चैत १९ गते गरेको सम्‍झौता रद्धको निर्णय, बैंक जमानत जफत र कालोसूचीमा राख्ने लगायतका काम उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ ।

ओम्नीले औषधी खरिद सम्झौता गर्दा दाखिल गरेको जमानत जफत नगर्नु र कालोसूचीमा समेत नराख्नु भन्ने प्रतिषेधको आदेश माग गरेको छ । साथै सम्झौताको यथावत पालना गरी ओम्नीबाटै सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपूर्ति गराउन परमादेश दिन पनि सर्वोच्चसँग माग गरेको छ ।

ओम्नीले रिटको अन्तिम टुंगो नलागेसम्म सम्झौता खारेज गर्ने स्वास्थ्य सेवा विभागको निर्णय कार्यान्वयन नगर्न र कालोसूचिमा राख्ने प्रक्रिया यथास्थितिमा राखी सामानको आपूर्ति गराउने व्यवस्था गराउन पनि रिटमा माग गरेको छ ।

विभागले स्वास्थ्य सामग्री खरिद गर्दा करोडौ भ्रष्टाचार भएको समाचार सञ्चारमाध्यममा आएर आलोचना व्यहोरेपछि ओम्नीसँगको खरिद प्रक्रिया रद्द गरेर सेनालाई दिएको थियो । पछि ओम्नीलाई कालोसूचीमा समेत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्