एनपिएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित
काठमाडौँ,कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गर्दै चितवनले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।
विराटनगरका लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले ३३, लोकेश बमले २६, एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३ र शुभम रञ्जनेले १० रन बनाए। नरेन साउँदले २ रन जोडे भने अन्य तीन ब्याटरले खाता खोल्न सकेनन्।
चितवनका कमलसिंह ऐरीले सर्वाधिक चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिँदा रन्जित कुमार, मौसम ढकाल, टम लन्सेलोट टेलर र ड्यान माउस्लीले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका डेभिड मलानले सर्वाधिक ७० रन बनाए। रवि बोपाराले अविजित ३१ र ड्यान माउस्लीले अविजित २९ रनको योगदान दिए। देव खनालले १२ र अर्जुन साउदले तीन रन बनाए।
विराटनगरका आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाले समान एक विकेट लिए।
यस जितसँगै चितवनले एनपिएलको आफ्नो पहिलो खेलमै दुई अंक जोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

