धादिङ-नुवाकोट सम्पर्क समाज बेलायतद्वारा नेपालमा स्वास्थ्य सामाग्री हस्तान्तरण



लन्डन भदौ ८ । धादिङ-नुवाकोट सम्पर्क समाज बेलायतले गृह जिल्लालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

धादिङ र नुवाकोट स्थायी घर भई लन्डनमा विभिन्न पेसा र व्यवसायमा रहेकाहरुले आफ्नो र परिवारको गाँस कटाएर ८ लाखभन्दा बढी मूल्य पर्ने portable oxygen concentrator मेसिनहरु सहयोग गरेका हुन् । पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंको प्रांगणमा सोमबार आयोजित कार्यक्रममा समाजका अध्यक्ष चोकबहादुर तामाङले सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री एवं नुवाकोट १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हितबहादुर तामाङ, पूर्वमन्त्रीहरु दिलमान तामाङ,प रशुराम तामाङ र वाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्र अधिकारी, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम, समाजसेवी अक्कल तामाङ, समाजका सदस्य लक्ष्मी तामाङ, त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने, धादिङ जिल्ला अस्पतालका मेसु डाक्टर महेन्द्र धमला, डाक्टर त्रिभुवन झा, मन्त्रालयका कर्मचारीहरु र पत्रकारलगायतको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वमन्त्री, सांसद लगायतले सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । नेकपा केन्द्रीय सदस्य समेत रहेका हितबहादुर तामाङले कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी प्रकोप बढिरहेको अवस्थामा पनि आफ्नो मुलुकको जनताको स्वास्थ्यको चिन्ता लिई गरेको सहयोगलाई उदाहरणीय र प्रेरणादायी कार्यको रुपमा सर्वत्र महसुस गरिएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्