भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाखको क्षति
भक्तपुर,कात्तिक २८ । मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी हुँदा करिब ८० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
आज बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई खबर गर्नुभएको थियो । आगलागी विद्युत् सर्ट भएर भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
आगलागीबाट सातौँ तलामा सञ्चालित ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि’ मा करिब ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति नष्ट भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिनुभयो । पाँच वर्षदेखि सञ्चालनमा रहेको स्पाले आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो ।
त्यस्तै, कम्प्लेक्समा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक प्रजापतिले जानकारी दिनुभयो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कम्प्लेक्स र स्पामा गरी कुल ८० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी भएको करिब डेढ घण्टापछि जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासी, प्रहरी वृत्त थिमि तथा नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
अग्लो भवनको माथिल्लो तलामा आगलागी भएकाले दमकलबाट पानीको फोहोरा माथिसम्म पुर्याउन केही कठिनाइ भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्ला भवनमा हुने आगलागी नियन्त्रणका लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगलागी नियन्त्रणका लागि सरकारले नयाँ प्रविधि अपनाउन आवश्यक रहेको बताउनुभयो ।

