आन्तरिक उडान शुरु गर्ने सरकारको तयारी



काठमाडौं भदौ ९ ।

सरकारले आन्तरिक उडान शुरु गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा गरेर आन्तरिक उडान थाल्ने तयारी गरिएको हो । दशैँ र तिहारलाई लक्षित गरेर उडान खोल्ने तयारी थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोरोना संक्रमणको जोखिम कायमै रहेपनि अब विस्तारै अरु क्षेत्र खुल्ने भएकाले पहाडी तथा हिमाली जिल्लाका लागि काठमाडौंबाट आन्तरिक उडान थाल्ने तयारी गरेको बताएका हुन् । यद्यपि यसबर्ष कात्तिकमा दशैं र मंसिरमा तिहार परेको छ ।

तराईका जिल्लामा तत्काल उडान नखुलेपनि पहाड तथा हिमाली जिल्लाका लागि यसै हप्तादेखि उडान थाल्ने सरकारको योजना छ । यसका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने मन्त्री भट्टराईको भनाई छ । कोरोना जोखिम नियन्त्रणलाई शर्त बनाएर अर्को हप्तादेखि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारी तयारी छ ।

आजदेखि भने विदेशमा अलपत्र नेपाली सशुल्क ल्याउनका लागि चार्टड उडान शुरू भइसकेको छ । कोरोना महामारीका कारण गएको चैत १० गतेदेखि बन्द आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा उड्डयन तथा पर्यटन क्षेत्रमा ठूलो असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्