फोक्सोलाई स्वस्थ र बलियो राख्न सकेनौ भने हुन सक्छ कोरोनाको जोखिम र फोक्सोको क्यान्सर



काठमाडौं, भदौ १०

अहिले विश्व नै कोरोना माहामारीबाट प्रभावित छ ।

विश्वका विभिन्न देशमा फैलिएको कोरोनबाट करोडौं मानिस संक्रमित छन् भने लाखौं मानिसको ज्यान गइसकेको छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । पछिल्लो समय नेपालमा पनि दैनिक सयोंको संख्यामा संक्रमित थपिने गरेका छन् भने १ सय ७५ जनाको ज्यान गइसकेको छ ।

यो रोगले मानिसको फोक्सोमा बढि असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । फोक्सो मानिसको महत्वपुर्ण अंग हो । छातीमा भएको फोक्सोले अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याँक्ने काम गर्छ । फोक्सो स्वस्थ भयो भने मात्रै हामी स्वस्थ हुन सक्छौं । प्रदूषण, कारखाना र भान्छाको नियमित काम, चुरोट सेवनलगायत कारणले फोक्सोमा धुवाँले दाग लगाउने र त्यही कालान्तरमा क्यान्सरको कारण बन्ने जोखिम रहन्छ ।

फोक्सोलाई स्वस्थ र बलियो राख्न के गर्ने त ?
१) मकै
मकैमा बेटा–क्रिप्टोजान्थिन नाम गरेको एन्टिअक्सिडेन्ट पाइन्छ । जसले फोक्सोमा क्यान्सर लाग्ने सम्भावनालाई कम गर्छ ।
२) प्याज
प्याजले फोक्सोको इन्फेक्सनबाट जोगाउँछ र हत्तपत्त क्यान्सर लाग्न दिँदैन । फोक्सोमा क्यान्सर भइसकेको छ भने प्याज खानाले क्यान्सरग्रस्त कोषिकाको विकास र विस्तारको गतिलाई कम हुन्छ ।
३) अदुवा
अदुवा खाने गर्नाले धुवाँधुलो र धूम्रपानका कारण फोक्सोमा जम्मा भएका विकार कम हुन्छ । फोक्सो बलियो पार्न चाहनेले चियामा अदुवा हालेर पिउने र बिहान बेलुकाका खानासँग अदुवाको टुक्रा टोक्ने गर्नुपर्छ ।
४) सुन्तला
सुन्तलामा क्रिप्टोजान्थिन पाइन्छ । यसले फोक्सोमा क्यान्सर लाग्ने जोखिम कम गर्छ ।
५) सिस्नो
सिस्नोमा आइरन प्रशस्त मात्रामा पाइन्छ । सिस्नो खानाले फोक्सोमा लागेको इन्फेक्सनको प्रभाव कम हुन्छ । साथै, फोक्सोमा घातक रोग लाग्ने जोखिम पनि कम हुन्छ ।
६) प्रणायाम
हरेक बिहान खालीपेटमा अनुलोमविलोम, भ्रस्त्रिका, कपालभाँतीजस्ता प्रणायमका विधि अभ्यास गरेमा फोक्सोमा अक्सिजनको इन्टेक बढ्न जान्छ, साथै रक्तसञ्चार पनि तीव्र हुन्छ । यसले गर्दा फोक्सोमा जम्मा भएका अक्सिडेन्टलगायत विकार बाहिर निस्किन्छ र फोक्सो बलियो हुन्छ ।
७) पिस्ता
पिस्तामा पाइने भिटामिन–ईले फोक्सोलाई बलियो राख्न र क्यान्सरबाट जोगाउन मद्दत गर्छ ।
८) रातो खुर्सानी
धुवाँधुलोका कारण रुघाखोकी हत्तपत्त निको हुँदैन भने खानासँग रातो खुर्सानी टोक्नाले छातीमा जम्मा भएको कफ कम हुन्छ । साथै, घाँटी तथा छातीको खसखस पनि कम हुन्छ ।
९) जडीबुटी
आयुर्वेदले सुन्तलाको बोक्रा, पुदिनाजस्ता जडीबुटीलाई फोक्सो सफा गर्ने जडीबुटी भनेको छ । यस्ता जडीबुटी सेवन गरेर समेत फोक्सोलाई बलियो राख्न सकिन्छ ।
१०) कोपी
काउली, बन्दागोभी, ब्रोकाउली र यस्तै प्रजातिका तरकारीमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । जसले फोक्सोमा जम्मा भएका धुवाँ र निकोटिनका कारण सिर्जना भएका विशाक्त पदार्थलाई शरीरबाहिर निकाल्न मद्दत गर्छ ।
११) लसुन
लसुनमा एलिसिन नामक तत्व पाइन्छ । जसले फोक्सोमा भएको इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमता बढाउने गर्छ । दमको रोग लागेकाहरूले लसुन खानु उपयुक्त हुन्छ ।
१२) भिटामन सी
सुन्तला, कागती, मौसम, गोलभेँडाको जुस, अमला, स्ट्रबेरी, भुइकटहर, आप, पहेँलो र हरियो भेडेखुर्सानीजस्ता भिटामिन सीयुक्त फलफूल तथा तरकारी बढी खानाले फोक्सो स्वस्थ्य रहन्छ । किनकि, भिटामिन–सीले फोक्सोका विकार हटाउने र शरीरमा अक्सिजनको सञ्चारलाई तीव्र बनाउने काम गर्छ ।
१३) स्याउ
स्याउमा फ्लाभोनोइड्स र भिटामिन्स पाइन्छ, जसले फोक्सोमा जम्मा भएका विकार हटाइ फोक्सोलाई बलियो बनाउँछ ।
१४) अनार
अनारमा पाइने एन्टिअक्सिडेन्टले फोक्सो सफा पार्ने काम गर्छ । यसले फोक्सोमा ट्युमर पलाउने जोखिम पनि कम गर्छ ।
१५) पानी
धुवाँधुलोमा काम गर्ने र चुरोट खाने मानिसले सामान्य मानिसले भन्दा बढी पानी पिउने गर्नुपर्छ । प्रशस्त पानी पिउनाले शरीर डिहाइड्रेट हुन पाउँदैन । साथै, यसो गर्दा फोक्सोमा जम्मा भएको विशालु पदार्थ बाहिर निस्किन्छन् । यदि हामीले फोक्सोलाई स्वस्थ राख्न सकेनौ भने फोक्सो क्यान्सरको जोखिम रहन्छ । मानिसको छातीमा भएको फोक्सोले अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याँक्ने काम गर्छ ।

मायोक्लिनिकको एक रिपोर्ट अनुसार धुम्रपान गर्दा फोक्साको क्यान्सरको खतरा अत्यधिक बढ्ने गर्छ । यद्यपि, यो रोग ती व्यक्तिलाई पनि लाग्न सक्छ जसले आफ्नो जीवनकालमा कहिले पनि धुम्रपान गरेका छैनन् । फोक्सोको क्यान्सरको खतरा तपाईंले कति समयसम्म धुम्रपान गर्नुभयो भन्ने कुरामा निर्भर हुन्छ ।
फोक्सोमा क्यान्सरको लक्षणः
फोक्सोमा क्यान्सरको लक्षण वा संकेत सुरुवाती चरणमा पत्ता लाग्दैन । दुर्भाग्यवश्, यसको लक्षण वा संकेत रोगको एडभान्स स्टेजमा पुगेपछि मात्रै देखिने गर्छ । कहिले निको नहुने खोकी, खकारमा रगत, सास फर्ने समस्या, छातीमा समस्या, घाँटी बस्नु, तौल घट्नु, हड्डी दुख्नु र टाउको दुख्नु पनि यसको प्रमुख लक्षण हुनसक्छ ।

कहिले लिने डाक्टरको सल्लाह ?
फोक्सोसँग सम्बन्धित कुनै पनि समस्या देख्ने बित्तिकै तपाईंले डाक्टरको सल्लाह लिनुपर्छ । यदि तपाईं धुम्रपान गर्नुहुन्छ र त्यो छोड्न सकिरहनुभएको छैन भने पनि तपाईंले डाक्टरलाई भेट्नुपर्छ । यस्तो बानी छुटाउन तपाईंले डाक्टरले सहयोग गर्न सक्छन् । तपाईंलाई डाक्टरले काउन्सिलिङ, मेडिकेशन र निकोटिनको रिप्लेसमेन्ट प्रोडक्टबारे जानकारी दिन सक्नेछन् ।
के कारणले हुन्छ फोक्सोको क्यान्सर?
मुख्य रुपमा धुम्रपान गर्नाले नै फोक्सोको क्यान्सर हुने गर्दछ । धुम्रपान गर्ने र यसको धुँवाको सम्पर्कमा आएका व्यक्ति पनि यो रोगको शिकार हुनसक्छन् ।
फोक्सोको क्यान्सरकति प्रकारका हुन्छन्?
डाक्टरले फोक्सोका क्यान्सलाई दुई ठूलो भागमा विभाजन गरेका छन् । ‘स्मल सेल लङ्ग क्यान्सर’ र ‘नन स्मल सेल लङ्ग क्यान्सर’ । यसको आधारमा नै डाक्टरले तपाईंलाई कस्तो प्रकारको उपचारको आवश्यकता छ भनेर निश्चित गर्छन् ।
उपचार र रोकथामः
फोक्सोको क्यान्सरबाट छुटकार पाउनका लागि डाक्टरले थुप्रै सल्लाह दिने गर्छन् । धुम्रपानको त्याग, धुम्रपानको सम्पर्कमा आउन बाट बच्नु, हार्ड रेडन इलाकाबाट टाढा बस्नु, कार्यस्थलमा कार्सिनोजेन्सजस्ता विषालु रसायनबाट टाढा रहनु । खानामा फल र हरियो सागसब्जी समावेश गर्नु । नियमित व्यायामले फोक्सोको क्यान्सरलाई रोक्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्