ओलीको टिप्पणी : ‘नक्कली भगवान जन्मिएर हैरान पारे’
काठमाडौं,कात्तिक १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको टिप्पणी गरेका छन्। उनले धार्मिक मान्यता र जोगीप्रति देखाइने अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ बताएका हुन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले ज्ञान धेरै हुँदैमा मानिस असल र मानवतावादी नहुने बताए। मानिसमा मानवता र असल व्यवहारको अभाव भए समाज र छिमेकीका लागि पीडादायक बन्न सक्ने उनको भनाइ थियो।
भगवानको उत्पत्ति र धार्मिक मान्यताबारे प्रसङ्ग उठाउँदै ओलीले पार्वतीको श्रापपछि देवताका सन्तान जन्मिन बन्द भएको उल्लेख गरे। त्यसपछि नक्कली भगवानहरू जन्मिएर हैरान पारेको भन्दै उनले व्यङ्ग्य गरे।
‘अब देवता, बढी देवता जन्मिँदैनन्। तर पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ,’ ओलीले भने।
उनले दक्षिणतिरबाट आउने जोगीलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने सामाजिक प्रवृत्तिप्रति पनि व्यङ्ग्य गरे। ‘हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ,’ उनले भने।
ओलीले सत्य, न्याय र मानवतावादलाई विचार निर्माणको आधार बनाउनुपर्नेमा जोड दिए। योग दर्शनको अष्टाङ्ग योगअन्तर्गत यम र नियमको चर्चा गर्दै उनले हिंसा नगर्ने, असत्य नबोल्ने, सत्य बोल्ने, शान्तिको मार्गमा हिँड्ने र सबैको सुरक्षा गर्ने मान्यतालाई महत्त्वपूर्ण बताए। अरूको सम्पत्तिमा लोभ नगरी आफ्नो जायज हकमा मात्रै सीमित रहनुपर्ने उनको भनाइ थियो।
‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ। त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट,’ ओलीले भने।
योग दर्शनबारे व्याख्या गर्दै उनले पतञ्जलिको योगमा आइपुग्दा ईश्वरवादसँग सम्बन्ध जोडिएको उल्लेख गरे। उनका अनुसार सांख्य र शैव दर्शनमा योग ईश्वरवादसँग जोडिएको थिएन।
‘आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन्। बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख। शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ,’ ओलीले भने।

