कांग्रेसभित्रको तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्छौँ : गगन थापा
पोखरा,कात्तिक १० । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी कांग्रेसबाट टाढिएका मतदातासँग पुनः संवाद थाल्ने बताएका छन्।
बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले विगतमा कांग्रेससँग आबद्ध रहेर पछिल्लो समय अलग भएका परिवारलाई खोज्दै घरदैलोमा पुग्नुपर्ने बताए।
उनले ११३औँ बिपी जयन्तीका अवसरमा पार्टीबाट टाढिएका परिवारसँग संवाद गर्न विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
‘दुई लाखभन्दा बढी परिवार अहिले हामीसँग अलग हुनुभएको छ। ती अलग भएका परिवारलाई हामीले खोज्नुपर्यो। उहाँहरूसँग संवाद गर्नुपर्यो,’ थापाले भने।
कांग्रेसमा २० देखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै उनले पाका नेताको अनुभव र युवाको ऊर्जालाई संयोजन गरेर अघि बढ्नुपर्ने बताए। यी पुस्ताबीचको सहकार्यबाट मात्रै अपेक्षित नतिजा हासिल गर्न सकिने उनको भनाइ थियो।
सभापति थापाले आफ्नो चारवर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेताहरूलाई भड्किलो शैली त्यागेर गाउँगाउँमा खटिन निर्देशन दिए।
उनले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार पार्टीको तल्लो तहलाई दिइने पनि बताए।

