अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपाललाई ३ स्वर्ण



काठमाडौं भदौ १२ ।

फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ ।

तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान ४–४ रजतपदक र कास्यपदक हात पारेको हो । नेपालकी सुविता गौतम, अनुभा मगराती र जुलिएना मोक्तानले स्वर्णपदक जितेकी हुन् ।

यस्तै दिप्सन सापकोटा, नान्सी क्षेत्री, रिना श्रेष्ठ र अनुराग पान्डे क्षेत्रीले रजत पदक हात पारे । रुद्राक्ष देवकोटा, सुविता गौतम, प्रार्थना अग्रवाल र जेमिन महर्जनले कास्यपदक पाए ।

सुविताले यु–१२ गल्र्स कातामा नेपालकै नान्सी क्षेत्रीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । अनुभाले यु–१७ गल्र्स कातामा फिलिपिन्सकी जोअन्ना प्याट्रिसियालाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । यस्तै जुलिएना मोक्तानले मकाउकी केली टम हेइ तोङलाई पछि पार्दै स्वर्ण जितिन् ।

यु–९ ब्वाइज कातामा दिप्सन घरेलु खेलाडी फ्रान्सिससँग पछि पर्दै रजतमै सीमित बने । सिनियर महिला कातामा रिना श्रेष्ठ स्वीडेनकी नोभा पेर्निटानसँग तथा यु–१७ ब्वाइजमा अनुराग फिलिपिन्सका जोसुवासँग पछि पर्दै रजतमा सीमित बने ।

तीनदिने च्याम्पियनसिपमा काता र कुमुते गरी ९ तौल समूहमा विभिन्न १४ राष्ट्रको सहभागिता रहेको रेफ्री रवि शाहीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्