नुवाकोट प्रवेशनाका गुर्जेमा कडाइ, ८ घन्टा रोकिए नेकपाका जिल्ला नेता



नाकाबाट प्रवेश कडाइसंगै अलमलिएका सरकारी कर्मचारी

साझा पथ संवाददाता

नुवाकोट, भदौ १२ । छोटो दुरीको नुवाकोट प्रवेश नाका गुर्जेभन्ज्याङमा प्रहरीले कडाइ गरेको छ। जिल्लाको पूर्वी नाका क्षेत्रसँग जोडिएको शिवपुरी गाउँपालिकामा बिहीबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै स्थानीय सरकारको समन्वयमा काठमाडौंदेखि नुवाकोट प्रवेशमा प्रहरीले कडाइ गरेको हो ।

शुक्रबार नुवाकोट प्रवेशमा प्रहरीले अत्यावश्यकीय सवारीसाधनलाई समेत कडा निगरानी राखेको छ । प्रहरी इकाई गुर्जेका प्रहरी सहायक निरीक्षक (असई) कृष्ण गुरुङका अनुसार शिवपुरी गाउँपालिकाको निर्देशनमा बिहीबार रातिदेखि आवातजावतमा थप कडाइ गरिएको हो ।

८ घन्टा रोकिए नेकपाका जिल्ला नेता

नुवाकोट प्रवेशमा प्रहरीले कडाइ गरेपछि नेकपाका नेता थपलिया

शुक्रबार बिहान १० बजे नुवाकोट घर हिँडेका नेकपा नुवाकोटका नेता तोयनाथ थपलिया ८ घन्टा चेकपोस्टमै रोकिएका छन् । सुरुमा आफू जिल्लाका नेताको परिचय दिएका नेता थपलियालाई प्रहरीले बिनाकारण, बिनापास प्रवेश नदिने बताएका थिए । प्रहरीको भनाइलाई बेवास्ता गर्दै नेता थपलियाले जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र पूर्वमन्त्री अनि जिल्लाका नेताहरुलाई फोन गर्दै आफू गाउँ प्रवेश नपाएको दुखेसो गरे । एक प्रत्यक्षदर्शीले साझापथलाई भने- ‘सोही बखत जिल्लाका प्रदेश सांसद केशव पाण्डे र लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ काठमाडौं प्रवेशका लागि चेकपोस्ट आइपुगे, नेता थपलियाले ती नेतालाई पनि गुहार माग्न पुगेका थिए तर प्रहरीले सबैलाई नियम बराबर भन्दै प्रवेशमा रोक लगाइरहेका थिए ।’

बिहान १० बजेदेखि नुवाकोट प्रवेश प्रयास असफल पश्चात् साझ छलफलमा नेता थपलिया

दिनभर पावर र प्रहरी नियमबीच द्वन्द्व चलेको हेल्थ डेस्कमा खटिएका एक कर्मचारीले बताए । नेता थपलियालाई साँझ स्थानीय वडा प्रतिनिधिको सल्लाह तथा रोहवरमा प्रवेश दिइएको छ । कडाइका कारण दुई दर्जन सवारीसाधन काठमाडौं नै फर्किएका छन् भने एक दर्जन सवारीसाधन भने काठमाडौं प्रवेशसमेत दिइएको छैन ।

नुवाकोटमा शुक्रबार ३ सहित हालसम्म ८९ जना कोरोना संक्रमित भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्