सुटुक्क नुवाकोटको पञ्‍चकन्या मान्थोक पुगेका आर्मीलाई कोरोना



घलेभन्ज्याङ, भदौ १२ । पञ्‍चकन्या गाउँपालिकाको निर्देशनलाई उल्लंघन गर्दै सुटुक्क वडा नं ३ स्थित मान्थोक घर पुगेका नेपाली सेनामा कार्यरत एक जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा स्वाब दिएर पहुँचको आधारमा पीसीआर रिपोर्टबिना बुधबार गाउँ छिरेका ३० वर्षीय आर्मीलाई बिहीबार साँझ कोरोना पोजिटिभ थाह भएको हो । ती पुरुषले आफू गाउँ आएको र कोरोना पोजिटिभको मोबाइल म्यासेज आएको भन्दै हतास मनस्थितिमा पञ्‍चकन्या गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख हेमनारायण महतोलाई फोन गरेका थिए । त्यसपछि महतोले समन्वय गरेर बिहीबार राति नै जिल्ला सदरमुकाममा आइसोलेसनमा राख्न पठाएका थिए ।

पञ्‍चकन्यामा शुक्रबारसम्म ५ जनामा कोरोना पुष्टि भइसकेको छ । ती मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् । संक्रमित हुनेमा काठमाडौं र देशबाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको प्रमुख महतोले जनाए । उनका अनुसार पञ्‍चकन्या गाउँपालिका वडा नं १ का २ जना, २ का २ जना र ३ का १ जना संक्रमित भएका छन् ।

प्रमुख महतोले भदौ ८, ९ र १० गते जनप्रतिनिधि, स्वयंसेविका र स्वास्थ्यकर्मी तथा कर्मचारी लगायतको पीसीआरका लागि १३१ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये ८ गते लिइएका ४१ नमुना, ९ गतेका ३६ नमुनाको नेगेटिभ रिपोर्ट आएको उनले बताए । १० गते संकलित ५४ स्वाबको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख महतोले साझा पथलाई जानकारी दिए ।

कोरोना भाइरसको जोखिम बढेसँगै स्थानीय सरकार र प्रहरी प्रशासनले कडाई गर्ने तर सर्वसाधारणदेखि ठूलाठालू भनिनेहरुले नियम उल्लंघन गर्नेक्रम नुवाकोटमा बढ्दो छ । पञ्‍चकन्या गाउँपालिकाले पालिकाभित्र प्रवेशका लागि पीसीआर जाँचको नेगेटिभ रिपोर्ट अनिवार्य भन्दै साउन ३० गते सूचना जारी गरेको थियो । त्यसपछि सोही नियम लागू गराउन गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, इलाका प्रहरी कार्यालय पञ्‍चकन्याका सई रामेश्वर सहनी लगायत गत हप्ता गुर्जे प्रहरी चेक पोस्ट लगायत नाकामा कडाइका लागि गाउँपालिकाको निर्णयसहित पुगेका थिए । नाकामा कडाइ गर्न भनिएको नियम तोड्दै विभिन्न बहाना र पहुँचको आधारमा प्रवेश भइरहेकोले आफूहरुमा असुरक्षित महसुस हुन थालेको स्थानीयको गुनासो छ ।

पञ्‍चकन्याबाट काठमाडौं ओहोरदोहोर गर्ने मुख्य नाका शिवपुरीको गुर्जे प्रहरी चेक पोस्टका असई कृष्ण गुरुङले पञ्‍चकन्या प्रवेशका लागि पीसीआर रिपोर्ट नै माग गरिए पनि केही स्टाफ र अत्यावश्यक सवारी साधनका लागि खुकुलो गरिएको स्वीकार गरे । उनले शिवपुरीमा बिहीबार ७ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि भने जिल्ला प्रशासन कार्यालयले गरेको आदेशबमोजिम रातिदेखि आउजाउमा कडाइ गरिएको बताए । उनले भने, ‘शववहान, एम्बुलेन्स र अत्यावश्यक साधनबाहेकलाई पूर्ण रुपमा रोकेका छौं । आज (शुक्रबार) दिनभरि रोकेर राखेका छौं । तर कुखुरा, तरकारीजन्य वस्तुको हकमा भने अवस्था हेरेर छोड्यौ ।’

बिहीबार नै ती युवामा कोरोना संक्रमण पुष्टि भए पनि केन्द्रीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित कोभिड १९ नियमित प्रेस ब्रिफिङमा नुवाकोटका ३ जना संक्रमित थपिएको औपचारिक जानकारी दिएका थिए । शुक्रबार पञ्‍चकन्याका ३० वर्षीय पुरुषसहित बेलकोटगढी ६ का ४५ वर्षीय पुरुष र काठमाडौं बस्दै आएकी नुवाकोटकी एक महिलामा कोरोना पोजिटिभ देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जिल्लामा शुक्रबार ३ सहित ८९ जना संक्रमित फेला परिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्