निषेधाज्ञामा अटेर गर्नेको संख्या बढ्यो,शुक्रबार चार हजार सवारी कारबाहीमा



काठमाडौँ, भदौ १३ । पछिल्लो दिन यता राजधानीमा कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ।काठमाडौँ उपत्यकामा कोराना सङ्क्रमण वृद्धिसँगै काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

शुक्रबार अनुमतिबिना काठमाडौँमा एक हजार २२१, ललितपुरमा ४१० वटा र भक्तपुरमा दुई हजार २५५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले निषेधाज्ञाको उल्लङ्न गरेर सवारी साधन सञ्चालन गर्नेहरूको सवारी साधनलाई होल्डमा राखिएको बताएका छन् ।
शुक्रबार मात्रै दिउँसो एक बजेसम्ममा तीन हजार ८८६ सवारी साधनहरू कारबाहीमा परेसँगै एक पटकभन्दा धेरै निषेधाज्ञा उल्लङ्घन गर्ने ५३३ वटा चारपाङ्ग्रे तथा एक हजार वटा दुई पाङ्ग्रेलाई कारबाही स्वरुप होल्डमा राखिएको छ ।

निषेधाज्ञा जारी भएको एक साता बितिसकेको समयमा निषेधाज्ञा तोड्ने सवारी साधनहरूलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्न सकिने महानगरीय ट्राफिक महाशाखाका एएसपी भीमप्रसाद ढकालले बताए। सुरुका दिनमा केही घन्टा होल्ड गरेर सम्झाएर पठाएको र अहिले अटेर गर्नेमाथि एक-दुई दिन र तीनसम्म होल्डमा राख्ने गरेको ढकालले बताए। एसएसपी ढकालका अनुसार निषेधाज्ञाको पालना नगर्नेमाथि सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार मुद्दासमेत चलाउन सक्ने प्रकृयामा पुग्ने अवस्था आएमा मुद्दासमेत चलाउने उनले बताए ।

एसएसपी ढकालका अनुसार दैनिक एक हजार ५०० वटा सवारी साधनहरूलाई होल्डमा राखिएको बताउँदै यसलाई कम गराउन एक हजार ४०० भन्दा धेरै ट्राफिक सडकमा परिचालन भएको उनले स्पष्ट पारे। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवानासमेत गराइरहेको एएसपी ढकालले जानकारी दिएका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्