एपीएफलाई दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधि



झापा,मंसिर १३ । झापाको दूधेस्थित खेलमैदानमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधि एपीएफ फुटबल क्लबले जितेको छ । खेलमा उत्कृष्ट पुनरागमन गर्दै एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा एपीएफका गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे । आर्मीका तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सके । आर्मीका यशोदा शाही र बिमला थापाको प्रहारलाई एपीएफकी गोलरक्षक एञ्जिला तुम्बापोले विफल पारिन् ।

खेलको ३१औँ मिनेटमा सुक्रिया मियाको पासमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ६०औँ मिनेटमा रश्मिकुमारी घिसिङले डिबक्सको छेउबाट उत्कृष्ट प्रहार गर्दै एपीएफलाई बराबरीमा फर्काइन् ।

उपाधिसँगै एपीएफले ११ लाख रुपैयाँ र शील्ड प्राप्त गरेको छ भने उपविजेता आर्मीले पाँच लाख ५० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगितामा एपीएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले प्रतियोगिताभर नौ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधिसमेत जितिन् । उनले सर्वोत्कृष्ट खेलाडी बनेबापत एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक एपीएफकी एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर गीता राना, उत्कृष्ट फरवार्ड आर्मीकी चन्द्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफका जिवेशकुमार पाण्डे घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । खेलको उत्कृष्ट खेलाडी एपीएफकी एञ्जिला तुम्बापो घोषित भइन् । उनले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

मङ्सिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टोलीलाई शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ तथा गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्