विश्वकप छनोट प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा
काठमाडौं,मंसिर १३ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि टोली घोषणा गरेको हो ।
घोषित टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन् ।
विश्वकप छनोट प्लेअफ आगामी मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
नेपालले मङ्सिर २० गते युगाण्डा, २४ गते संयुक्त अरब इमिरेट्स (युएई), २६ गते जर्सी, २८ गते क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले आफ्ना सातवटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । प्रतियोगितामा आठवटै टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष चार स्थानमा रहने टोलीले अर्को चरणमा प्रवेश गर्नेछन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।

