नुवाकोटका दुई सामुदायिक विद्यालयमा खानेपानी शुद्धीकरण फिल्टर जडान



नुवाकोट,मंसिर १३ । नुवाकोटको विदुर नगरपालिका–५ का दुई सामुदायिक विद्यालयमा सुरक्षित तथा स्वच्छ खानेपानीको व्यवस्था गर्न पानी शुद्धीकरण गर्ने फिल्टर जडान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएका फिल्टर स्थानीय च्वाडी पब्लिक माध्यमिक विद्यालय र रक्तकाली आधारभूत विद्यालयमा जडान गरी हस्तान्तरण गरिएको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक तथा सम्बन्धित कर्मचारीलाई वडाध्यक्ष लीलानाथ न्यौपानेले फिल्टर हस्तान्तरण गर्नुभएको थियो ।

फिल्टर जडानपछि दुवै विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानीको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मर्मका साथ वडाध्यक्ष न्यौपानेको समन्वय तथा पहलमा नेपाल रेडक्रस सोसाइटीले खानेपानी शुद्धीकरणका लागि फिल्टर उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस्