प्रदेश २ मा शनिबार ७ जना कोरोना संक्रमितको मृत्यु



जनकपुरधाम, भदौ १४ । शनिबार मात्रै प्रदेश नं. २ मा उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ । शनिबार मात्रै प्रदेश नं. २ को महोत्तरीमा दुई, सिरहामा दुई र पर्सामा तीनजना गरी सात जना कोरोना भाइरस सङ्क्रमित उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ का वरिष्ठ चिकित्सक एवम् सूचना अधिकारी डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

उनले शनिबार मात्रै प्रदेश नम्बर २ मा २० महिलासहित १६५ जना नयाँ कोरोना सङ्क्रमित थपिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणबाट शनिबार १६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए । उनका अनुसार धनुषामा ४९, महोतरीमा २७, सिरहामा १३ जना, बारामा नौ, पर्सामा ३४, सर्लाहीमा ४५ र रौतहटमा एकजनामा सङ्क्रमण भएको बताए ।

यससँगै प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार ७ सय ९५ पुगेको छ । शनिबार चार महिला र ८३ जना पुरुष गरी ८७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्केको उनले बताए।

यो समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्