कोरोना जितेका वाग्मती प्रदेशका सचिव भन्छन्: सबैभन्दा ठूलो औषधि मनोबल र भेटघाट



काठमाडौं,भदौ १४ । कोरोना भाइरसमाथि विजय हासिल गरी स्वस्थ बनेका वाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संक्रमितको सबैभन्दा ठूलो औषधि नै साथीभाइ र आफन्तजनको भेटघाट भएको बताएका छन् । ‘साथीभाइ र आफन्तजन भेट्न आउँदा आधा कोरोनामाथि विजयी हासिल गरेको जस्तो अनुभूति हुन्थ्यो,’ सचिव बुर्लाकोटीले राजधानीसँग भने ।

उनका अनुसार उच्च मनोबल लिएर नियमित र सन्तुलित जीवन जिउन सके कोरोनालाई सहजै जित्न सकिन्छ । तर, संक्रमितको सबैभन्दा ठूलो औषधि साथीभाइ र आफन्तहरूको भेटघाट नै भएको सचिव बुर्लाकोटीको अनुभव छ । ‘सामाजिक दूरी कायम गरेर कोही भेट्न आउँदा आधा रोग सन्चो भएको अनुभूति हुन्थ्यो,’ बुर्लाकोटीले आफू आइसोलेसनमा बस्दाको अनुभूति सुनाए ।

‘त्यसैले आफ्नो टोलमा पनि कोही संक्रमित भएको थाहा पाउनुभयो भने सुरक्षा विधि प्रयोग गरेर भेट्न जानुहोला, ती संक्रमितका लागि सबैभन्दा ठूलो औषधि त्यही भेटघाट हुनेछ,’ सचिव बुर्लाकोटीले भने । आफूलाई आफ्नो कार्यालयका दुई जना कर्मचारीले नियमित रूपमा भेटघाट गरी उत्प्रेरित गर्ने काम गरेकाले ती कर्मचारी आफ्ना लागि भगवान्सरह भएको बुर्लाकोटीको भनाइ छ । कोरोना संक्रमितलाई भेट्न जानेहरू संक्रमितका लागि भगवान्सरह हुने उनले बताए ।

अब संक्रमितलाई छिःछिः र दुरदुर गर्ने होइन, माया ममता दिँदै उत्प्रेरित गर्ने गरी सामाजिक अभियान सञ्चालन गर्नुपर्ने सचिव बुर्लाकोटीको सुझाव छ । ३० साउनमा कोरोना संक्रमित भएका बुर्लाकोटी १० भदौमा कोरोनामुक्त भएका थिए । बुर्लाकोटीका अनुसार उनलाई पहिलो दिन हल्का शरीर दुखेको र सामान्य ज्वरो आएको थियो । त्यसपछि एक दिन उनलाई टाउकोदेखि खुट्टासम्म दुख्यो । उनमा रुघा खोकी भने खासै देखिएन । परीक्षणपछि पोजिटिभ देखिएलगत्तै उनले सावधानी अपनाउँदै कार्यालयको आवासमै आइसोलेसनमा बसे । होम आइसोलेसनमा उनले मेडिकल औषधिको साटो जडीबुटी प्रयोग गरेको बताए ।

‘गुर्जो र बेसारपानी नियमित खान्थें, सन्तुलित आहारविहार गर्थें,’ उनले भने । उनले संक्रमितलाई हौसला आवश्यक पर्ने बताउँदै आफू कुनै छरछिमेकी वा साथीभाई कसैलाई संक्रमण भए एक टुक्रो स्याउ बोकेर पनि भेट्न जाने बताए । बुर्लाकोटीले आफूलाई संक्रमण भएपछि आफ्नै कार्यालयका केही व्यक्तिले हतोत्साही बनाउन खोजेको भन्दै त्यस्तो प्रवृत्तिले कोरोना संक्रमणमाथि विजयी हासिल हुन कठिन हुने बताए ।

‘मलाई संक्रमण हुँदा खुसी हुने र हतोत्साही बनाउन खोज्ने महान् नायक/नायिकालाई कहिल्यै पनि कोरोनाले नभेटोस् भन्ने प्रार्थना गर्दछु,’ उनले भनेका छन् ।

ब्ुर्लाकोटीले आफ्नो ब्लड ग्रुप ‘बि पोजेटिभ’ रहेको बताउँदै आफू कोरोना संक्रमित मुक्त भएकाले अब कसैलाई आवश्यक पर्दा प्लाज्मा थेरापीका लागि रक्तदान गर्न इच्छुक रहेको स्पष्ट पारेका छन् । 

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्