म्याग्दीको बालगृहमा आश्रित बालबालिकाले सामूहिक भाइटिका लगाए
म्याग्दी,कात्तिक २५ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । तिहारका बेला बालबालिकालाई एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिनुभयो ।
बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय प्रदान गर्नुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको सभापति शाक्यले बताउनुभयो ।
सभापति शाक्यले व्यक्तिगत रूपमा पूजा सामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटिका कार्यक्रम आयोजना गर्नुभएको हो । बालबालिकामा आपसी माया, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले विगत चार वर्षदेखि हरेक तिहारमा सामूहिक भाइटिका कार्यक्रम आयोजना हुँदै आएको छ ।

