गोरखामा ट्याक्सी दुर्घटना : पाँच जना घाइते, दुईको अवस्था गम्भीर



गोरखा,कात्तिक २५ । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आज बिहान करिब ११ः३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिएको अवस्थामा अचानक पछाडि सरेर करिब ४० मिटर तल खसेको हो ।

दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सिरानचोक गाउँपालिका–५ भाँगेका ४० वर्षीय चालक वीरबहादुर गुरुङ, सिरानचोक–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार, ५० वर्षीया गीतामाया परियार, २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार रहेका छन् ।

घाइते सबैको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्