चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित श्रीमान् पक्राउ
चितवन,कात्तिक २५। चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमतीको हत्या आरोपमा ३० वर्षीय सुमन राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको चापाकोट गाउँपालिका–६ घर भई हाल भरतपुरको त्रिचोकमा डेरा गरी बस्दै आएका सुमनले आफ्नै ३२ वर्षीया श्रीमती सपना राना मगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भाइटीकाको दिन आज बुधबार बिहान घरायसी विवाद भएपछि सुमनले श्रीमतीको टाउकोमा फलामको रड प्रहार गरेका थिए । बिहान करिब साढे ८ बजे भएको उक्त घटनामा सपनाको आफ्नै डेरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवले जानकारी दिनुभयो ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । श्रीमतीको हत्या आरोपमा सुमनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

