जलवायु विपद्पछिको पुनर्निर्माणका लागि विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले
काठमाडौं,कात्तिक २५ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताउनुभएको छ।
टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा बोल्दै उहाँले जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने बताउनुभयो।
नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा अर्थमन्त्री वाग्लेले अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको सहायता प्याकेज आवश्यक रहेको धारणा राख्नुभयो।
विपद्पछिको उद्धार, राहत तथा पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको उहाँले बताउनुभयो। बजेट कटौतीका कारण विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकास कार्यक्रम प्रभावित भइरहेको उहाँको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले जलवायुजन्य क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब दुई करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको जानकारी दिनुभयो। उक्त सहयोग स्वागतयोग्य भए पनि जलवायु जोखिममा रहेका देशहरूको आवश्यकताको तुलनामा कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको उहाँले औँल्याउनुभयो।
नेपालको करिब ५० प्रतिशत भूभाग वनले ढाकेको उल्लेख गर्दै उहाँले विपद्का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली सङ्घ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

