प्रेस पास दुरुपयोग भएको प्रति पत्रकार महाँसंघको ध्यानाकर्षण



काठमाडौ भदौ १४ ।

नेपाल पत्रकार महासंघले प्रेस पास दुरुपयोग भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाउँमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारीसाधनमा प्रेस लेखेर दुरुपयोग भइरहेको भन्दै महासंघले दुरुपयोग नगर्न सबैमा आग्रह गरेको हो।

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय भएको बताएका छन्।

महासंघले पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गरेको छ। आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न भनेको छ। त्यस्तै आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गरेको छ।

प्रेस पासको दुरुपयोग रोक्न महासंघले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई आग्रह पनि गरेको छ। ‘प्रेस उल्लेखित सवारी साधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास अधिकारिक भए–नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरीय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई आग्रह गर्दछ,’ विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ। महासंघले कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्न पनि भनेको छ।

प्रतिक्रिया दिनुहोस्